काठमाडौं । बुटवल-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने खण्ड अवरुद्ध भएको हो ।
दाउन्नेको पैंसठ्ठी मोड नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई गाडी फसेकाले आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
लगातारको वर्षाले गत सोमबार बिहानदेखि अवरुद्ध भएको दाउन्ने खण्ड केही समय सञ्चालन हुँदै पुनः अवरुद्ध हुने गरेको छ । आज बिहानदेखि सडक पुनः अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
दाउन्ने खण्डमा सडक अवरोध भएका कारण सवारी आवागमनमा समस्या भएको र मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।