भोजपुर । भोजपुरका किसान राम्रो आम्दानीको श्रोत बनेको अकबरे खुर्सानीमा रोगको जोखिम बढेसँगै समस्यामा परेका छन् ।
फलमा डढुवा लाग्ने, किरा लाग्ने, बोटमै सुक्ने, फल झर्नेलगायतका रोग देखिँदा किसानको श्रम र लगानी जोखिममा परेको हो ।
लटरम्म फल लागेका बोटमा रोग देखिएपछि धेरै किसान खुर्सानी उखालेर फाल्न बाध्य भएका छन् । विगतका बर्षहरुमा खुर्सानी खेतीबाट राम्रो आम्दानी गर्दै आएका किसान यस बर्ष भने खुर्सानीलाई रोगले नष्ट गरेपछि निरास बनेका छन् ।
पछिल्लो समय खुर्सानीमा विभिन्न खालका रोगको प्रकोप देखिएकाले किसान मारमा परेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । रोग किरा नियन्त्रणका लागि प्राविधिक सहयोगसँगै रोग व्यवस्थापनको बारेमा किसानलाई जानकारी गराउँदै आएको केन्द्रको भनाइ छ ।
जिल्लाको पौवादुङमा, टेम्केमैयुङ, अरुण गाउँपालिका, भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाको करिव छ सय हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा खुर्सानी खेती भईरहेको छ । गत वर्ष जिल्लाबाट करिव २८ करोड बढीको खुर्सानी निर्यात भएको थियो ।