भोजपुर । भोजपुर सदरमुकामलाई उत्तरी क्षेत्रसँग जोड्ने महत्वपूर्ण भोजपुर–दिङ्ला सडक निर्माणको कामले तीव्रता पाएको छ ।
कोशी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयले स्थानीयको बहुप्रतिक्षित योजनाका रूपमा रहेको सडकमा कालोपत्रको कामलाई तिव्रता दिइएको हो ।
सडक निर्माणका काम अहिले दुई प्याकेजमा भइरहेको छ । भोजपुर–दिङ्ला तीनतले पहिलो खण्ड १७ दशमलव ५ किलोमिटर र तीनतले–दिङ्ला दोस्रो खण्डको १६ किलोमिटर सडक निर्माणको काम भइरहेको हो ।
एक १ अर्ब २२ करोड ३२ लाख ७८ हजार ३२२ रुपैयाँको लागतमा आस्फाल्ड प्रविधिबाट सडक कालोपत्र गरिँदैछ । हालसम्म पहिलो खण्डको भौतिक प्रगती करिव ४५ र दोस्रो खण्डको २० प्रतिशत रहेको छ ।
पूर्वाधार विकास कार्यालयबाट सडक निर्माणलाई तीव्रता दिएपछि स्थानीयमा उत्साह बढेको छ । सडक कालोपत्र भएपछि कृषि उपजको बजारिकरणसँगै षडानन्द र साल्पासिलिछोका नागरिकलाई वर्षातको समयमा दुई जिल्ला घुमेर सदरमुकाम आउनुपर्ने बाध्यता अन्त्य हुने स्थानीयको भनाइ छ ।
सडक निर्माणको जिम्मा रायमाझी–मार्सेली जेभी र बानिया निर्माण सेवाले लिएका छन् । जिल्लास्तरको महत्वपूर्ण योजना भएकाले निर्धारित समयमै निर्माण सम्पन्न गराउन सरोकारवालाले समेत सक्रिय भूमिका खेल्नु पर्ने स्थानीयवासीको माग छ ।