काठमाडौं । अलैँचीको मूल्य वृद्धि भएपछि भोजपुरका किसान खेती विस्तारमा जुटेका छन् । यसअघि उत्पादन भएको अलैँचीले राम्रो मूल्य पाएपछि किसान अलैँचीखेती विस्तारमा जुटेका हुन् ।
गत वर्षदेखि मूल्य वृद्धि भएपछि यहाँका किसान नयाँ बगैँचा विस्तारसँगै पुराना बगैँचाको संरक्षणमा जुटेका हुन् । गत वर्ष प्रतिमन अलैँची एक लाखदेखि एक लाख दुई हजारसम्म बिक्री भएपछि किसान उत्साहित भएका हुन् ।
बजारमा अलैँचीले राम्रो मूल्य पाउन थालेपछि किसान बगैँचा विस्तारमा लागेका छन् । राज्यले प्राविधिक सहयोग गरेमा किसानले अझ राम्रो आम्दानी लिन सक्ने छन् ।
माटो परीक्षण गरेर नयाँ नर्सरी स्थापना गर्न सके अलैँची अझ राम्रो आम्दानीको स्रोत बन्ने छ । जिल्लामा अहिले करिब पाँच सय ९७ हेक्टरमा अलैँची उत्पादन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँ रामशाही, गोलशाही, डम्बर शाही, जिर्मले जातको अलैँचीखेती हुने गरेको छ ।
चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ्ग, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ वासिङ्गथर्पु, तिम्मा हेलौछा, गुप्तेश्वरलगायत ठाउँमा अलैँचीको बढी खेती हुने गरेको छ ।
