समाज

भाद्र शुक्ल अष्टमी : आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व

भाद्र शुक्ल अष्टमी : आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व

काठमाडौं । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् ।

यो पर्व चान्द्रमास अनुसार भाद्र महिनामा मनाइन्छ । चान्द्रमास अनुसार भाद्र महिना अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको छ । 

दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान, दरसन्तान फैलिउन् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रत गरिने धार्मिक नियम छ । 

सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ । आजको दिनमा सूदुरपश्चिमवासीले देउडा गीत गाएर नृत्य गरी रमाइलो गर्दछन् ।  शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । 

यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । पहिलोपटक व्रत बस्नेले भने शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै शुुरु गर्नुपर्ने व्रत विधान छ । गौरालाई सुदूरपश्चिम र कर्णाली क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । 

राजधानीमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो । सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुुरु गरिएको हो । 

काठमाडौंको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सूदुरपश्चिम एवं कर्णाली प्रदेशवासीले मनोरञ्जन गर्ने गरेका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *