मुस्ताङ । दशैं नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् ।
किसान तथा व्यापारीहरू भेडाच्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजारमा आइपुगेका हुन् ।
हिमाली भेडाच्याङ्ग्रा बजार झरेपछि दशैं पर्व आगमनको झल्को दिन्छ । मुस्ताङबाट बेनी–जोमसोम सडक भएर म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौंलगायत ठूला शहरमा ढुवानी गर्न थालिएको छ ।
नेपाल चौपाया खरिद बिक्री सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बिहीबारसम्म एक हजार ३०० भेडाच्याङ्ग्रा काठमाडौं पठाइएको र थप एक हजार ७०० पठाउने क्रममा रहेको बताए । डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडाच्याङ्ग्रा बेच्न र देशका विभिन्न सहरबाट आएका व्यापारीको जोमसोममा चहलपहल छ ।
मुस्ताङमा आकारअनुसार प्रतिगोटा ३२ देखि ३७ हजारमा च्याङ्ग्रा बिक्री भइरहेको छ । काठमाडौं पुग्दा गत वर्षको दरमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो एक हजार ३०० का दरले बिक्री गरिने व्यवसायी बताएका छन् ।
मुस्ताङस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले यस वर्ष दशैंमा डोल्पा र जुम्लाका तीन हजार तथा मुस्ताङका किसानले पालेका १२ हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरेको छ । जोमसोममा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर बजार पठाउने व्यवस्था मिलाएको छ ।