काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजाको संक्रमण फैलिएको आशङ्का गरिएको छ ।
हैजाको संक्रमण पहिचानका लागि गरिएको तीव्र निदानात्मक परीक्षणमा २८ जनामा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत धनी सिँहले जानकारी दिएका छन् ।
महानगरपालिकाको पछिल्लो तथ्याङ्क अनुसार तीव्र निदानात्मक परीक्षणमा कोलेरा पोजिटिभ देखिएका २८ जनामध्ये तराई अस्पतालमा २० जना, नेसनल मेडिकल कलेज अस्पतालमा ३ जना र नारायणीमा ५ जनाको उपचार भइरहेको छ ।
हैजा संक्रमण सुनिश्चित गर्न बिरामीको दिसा परीक्षणका लागि नमुना संकलन गरी काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भइरहेको छ । दिसाको नमुना कल्चर गरी जीवाणुको पहिचान भएपछि मात्र हैजा फैलिएको मानिने जनस्वास्थ्य अधिकृत सिँहले बताएका छन् ।
हैजा फैलिएको आशङ्कामा गरिएको तीव्र निदानात्मक परीक्षणमा झाडापखालाका बिरामीहरू कोलरा पोजिटिभ देखिन थालेपछि महानगरको स्वास्थ्य शाखाले संक्रमण प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।
टोलीले सूचना संकलन तथा रोगबाट बच्ने चेतना अभिवृद्धिका काम गरिरहेको छ । यता झाडापखालाका रोगीको सँख्या बढदै गइरहेकाले अस्पतालमा उपचारका लागि शय्या अभाव भएको छ । नारायणी अस्पतालमा एउटै बेडमा दुईजनाको उपचार गर्नु परिरहेको अस्पतालका चिकित्सकहरूले बताए ।
दूषित पानी वा खाना सेवन र सरसफाइको कमीका कारण फैलिने हैजा रोगको संक्रमण देखिएपछि प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज न्यौपाने नेतृत्वको टोली वीरगञ्ज पुगेको छ ।