तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले जनतालाई सहज रुपमा सेवा प्रदान गर्ने उद्धेश्य सहित आजदेखि एकीकृत घुम्ती शिविर शुरु गरेको छ ।
स्थानीय जनतालाई घरदैलोमा नै सेवा दिने उद्धेश्यसहित गाउँपालिकाले घुम्ती शिविर आयोजना गरेको हो । गाउँपालिका नजिकको सिंहदरवार भएकाले जनताले सहज रुपमा सेवा पाउनुपर्छ भन्ने मान्यता बमोजिम आफूहरु अगाडी बढेको जनप्रतिनिधिको भनाइ छ ।
नागरिकलाई सबै सेवा एकै ठाउँमा दिने गरी घुम्ती शिविर म्याग्दे गाउँपालिका–१ बच्र्याङबाट शुरु भएको छ । वडा र पालिकाबाट लिनुपर्ने सेवा घरदैलोमा पाउँदा सहज भएको स्थानीयको भनाइ छ ।
चालु आर्थिक वर्ष २०८२÷०८३ मा स्वीकृत भएको कार्यक्रम अनुसार अध्यक्ष र उपाध्यक्षसँग जनता कार्यक्रम अन्र्तगत वडाले तय गरेको ग्रामीण स्थान वा आवश्यक स्थानमा सञ्चालन गर्ने गरी एकीकृत घुम्ती शिविर चलाएको हो ।
शिविरमा वडा तहबाट घटना दर्ता, राजस्व सङकलन, विभिन्न सिफारिस, स्वास्थ्य र आयुर्वेद शाखाबाट प्रदान गरिने सबै सेवा, पशु र कृषि उपशाखाबाट सञ्चालन हुने सबै सेवा प्रदान गरिनेछ । घुम्ती शिविर असोज १ गतेसम्म सञ्चालन हुनेछ ।
