काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप आजदेखि मलेसियामा शुरु हुँदैछ ।
उद्घाटन खेलमा नेपालले सिङ्गापुरसँग खेल्दैछ । यो खेल बिहान पौने ८ बजे शुरु हुनेछ । नेपाल क्रिकेट सङ्घ क्यान ले विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय टोली यसअघि नै घोषणा गरेको छ । टोलीको उपकप्तानमा सूर्यांशु कोइराला रहेका छन् ।
१६ वर्षमुनिको इस्ट जोन कपमा नेपालसहित १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् ।यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।
नेपालले दोस्रो खेलमा मङ्गलबार जापान, तेस्रो खेलमा असार १५ गते इन्डोनेसिया र समूह चरणको अन्तिम खेलमा असार १७ गते भूटानसँग खेल्नेछ । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ ।