समाज

अन्नपूर्ण हिमाल आरोहण हिरक महोत्सव अन्तर्गतका कार्यक्रम आजदेखि

अन्नपूर्ण हिमाल आरोहण हिरक महोत्सव अन्तर्गतका कार्यक्रम आजदेखि

गण्डकी ।  अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मनाउन लागिएको हिरक महोत्सव अन्तर्गतका कार्यक्रम आजदेखि शुरु हुने भएका छन् ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकी, अन्नपूर्ण गाउँपालिका म्याग्दीको व्यवस्थापनमा यस वर्ष अन्नपूर्ण (नर्थ) को आधार शिविरमा विशेष कार्यक्रमका साथ हिरक महोत्सव मनाउन लागिएको हो ।

बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले कार्यक्रम अन्तर्गत आजदेखि जेठ १९ सम्म गरिने पदयात्रामा फ्रान्स र नेपालका विशिष्ट व्यक्तिहरूको सहभागिता हुने जानकारी दिए । फ्रान्सेलीसहित ५५ सदस्यीय टोली आजदेखि पदयात्रामा सहभागी हुने उनले बताए ।

अन्नपूर्ण प्रथमका पहिलो आरोही मौरिस हार्जोगका छोरा माथियास इमानुएल म्याक्सिमिलियन हार्जोग र उनको परिवारका सदस्यसहितको १४ सदस्यीय टोली शुक्रबार नै पोखरा आइसकेको छ । उनहरूलाई शुक्रबार पोखरामा भव्य स्वागतसहित यहाँका पर्यटकीय स्थल अवलोकन गराइएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । फ्रान्सेली टोलीले सांस्कृतिक प्रस्तुतिसमेत देखाएको उनले बताए ।
    
कार्यक्रम अन्तर्गत आधार शिविरबाट ३० किलोमिटर दुरीको म्याराथन दौडसमेत आयोजना गरिएको छ । जेठ १९ गते आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गरिने छ । यस्तै, आधार शिविरमा निर्माण भएको खुला सङ्ग्रहालय र नारच्याङबाट आधार शिविर जोड्ने पदमार्गलाई ‘मौरिस हर्जोग पदमार्ग’ नामकरण गरिएको छ । उक्त पदमार्ग र सालिकको प्रधानमन्त्री के.पी. शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वले अन्नपूर्ण प्रथम हिमाल (८०९१ मी) को सफल आरोहण गरेको थियो । हर्जोगसगै लुइस लचेनल र दुई नेपाली शेर्पा उक्त आरोहणमा सहभागी थिए । नेपालमा आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमालसमेत भन्ने गरिएको छ । त्यसपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिएको थियो ।

पहिलो पटक आरोहण भएको हिमालको आधार शिविरमा नै पुगेर गरिने कार्यक्रमले नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको पर्यटन बोर्ड गण्डकीका प्रमुख लामिछानेले बताए । 

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रहरू प्रभावित बन्दै गएका अवस्थामा मनाउन लागिएको हिरक महोत्सवले विशेष महत्व राख्ने पर्यटन क्षेत्रका जानकारहरू बताउँछन् । विश्वमा नै आरोहणको जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण आधार शिविरमा हुने यस कार्यक्रमले हिमाली पर्यटनलाई विश्वव्यापी बनाउन थप योगदान पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *