समाज

इन्द्रजात्रा : आज माथिल्लो टोलमा कुमारी र भैरवको रथ तानिने

इन्द्रजात्रा : आज माथिल्लो टोलमा कुमारी र भैरवको रथ तानिने

काठमाडौं । काठमाडौंको बसन्तपुर क्षेत्रमा येँया जात्रा इन्द्रजात्राको रौनक देखिएको छ । 

जात्रा अन्र्तगत आज माथिल्लो टोल बसन्तपुर हुँदै यट्खा, रक्तकाली, किलागल, बांगेमुढा, असन, इन्द्रचोकमा रथ यात्रा हुनेछ । जात्रामा लाखे, आकाश भैरव, पुलुकिसी, हलचोक भैरव, देवीलगायत तान्त्रिक बिद्यामा आधारित नाच र दश अवतारलगायत पौराणिक कथामा आधारित प्रदर्शन गरिनेछ । 

यसअघि शनिबार कुमारीको रथ क्वःने लागा अर्थात तल्लो टोल  भुतिसः, चिंकमुगल, अट्को नारायण, मजिपाट, न्हूघ, ज्यावहाः, लगन, गोफल, व्रह्मटोल, ह्युमत, तुकंवहा, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, बिच्छेवहाः, क्वपुंतुं, सिंहसत्तल हुँदै कुमारी घरसम्म लगिएको थियो । 

शनिबार कुमारी रथ यात्रा शुुरु हुनुअघि राष्ट्रपति रामचन्द्र पौडेल, मन्त्रीहरु, पूर्वमन्त्रीहरु, संघीय तथा प्रदेश सभा सदस्यहरु र जनप्रतिनिधिहरु गद्दी बैठकबाट कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए । कुमारी घर अगाडि गद्दी बैठकबाट राष्ट्रपतिले कुमारीको दर्शन गरिसकेपछि रथ यात्रा थालिएको थियो । 

भाद्र २६ गते बिहिबार नानिचा यात्रा, हुने भने सोही दिन रातको १० बजेर ३१ मिनेनको शुभ साईतमा यःसीं क्वः थलेगु अर्थात इन्द्रध्वज ढलाएसँगै यसवर्षको इन्द्रजात्रा समापन हुने छ । जात्रासँगै बसन्तपुरमा रहेको हाथुद्यः श्वेत भैरवको दर्शन गर्न र प्रसाद ग्रहण गर्न सर्वसाधारण सबैका लागि खुल्ला गरिएको छ । 

इन्द्रजात्रा लिच्छवीकालीन राजा गुणकामदेवका पालादेखि चलि आएको चलन भन्ने भनाइ राख्ने संस्कृतिविद्हरु पनि छन । तर, जीवित देवी कुमारीको पूजा गर्ने र शाक्य थरकी कन्यालाई देवीका रुपमा पूजा गर्ने चलनलाई मल्लकालीन शासनबाट शुरु भएको मानिन्छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *