स्याङ्जा । सुन्तलाका दाना झर्न थालेपछी स्याङ्जाका किसान चिन्तित बनेका छन्। हरिया र राम्रा दाना बनिसकेका सुन्तला एकाएक झर्न थालेपछी किसानहरू समस्यामा परेका हुन् ।
पतेराको आक्रमण, गर्मी र वर्षाको कारण दाना झर्ने गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, स्याङ्जाका सुन्तला प्राविधिक प्रमुख इन्द्रप्रसाद सुवेदीले बताए ।
उनले पतेरा नियन्त्रण र विषादीको उचित प्रयोगमा ध्यान दिएर दाना झर्न रोक्न सकिने सुझाव दिए । वालिङ नगरपालिका–१२ की किसान सिता थापाले यो वर्ष सुन्तलाका दाना धेरै झरेको बताइन्। “दिनहुँ दाना झरिरहेका छन्, जसले चिन्ता थपिएको छ,” उनले भनिन् ।
प्राविधिक सुवेदीले सुन्तला बोटको राम्रो स्याहार, सरसफाइ र गोडमेलमा जोड दिनुपर्ने बताए । आवश्यक खाद, मल, पानी र पौष्टिक तत्वको कमीले पनि दाना झर्ने उनको भनाइ छ ।
स्याङ्जा सुन्तला खेतीका लागि उपयुक्त हावापानी भएको जिल्ला हो । यहाँका किसानले नगदेबालीका रूपमा व्यवसायिक सुन्तला खेती गर्दै आएका छन् । सुन्तला सुपरजोन परियोजनाले उत्पादन र बजारीकरणमा सहयोग पुर्याउँदै आएको परियोजनाका अध्यक्ष बोधराज अर्यालले बताए ।