काठमाडौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेनजी प्रर्दशनको क्रममा चोरी भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । आज सूचना जारी गर्दै भदौ २३ र २४ गते प्रर्दशनको क्रममा चोरी भएका जिन्सी सामान फिर्ता गर्न आग्रह गरेको हो । अख्तियारले भदौ २४ गते केन्द्रीय कार्यालय काठमाडौंसहित इटहरी, पोखरा, हेटौँडा, बुटवल लगायतका कार्यालयहरूबाटमा क्रममा चोरी तथा लुटपाट भएको जनाएको छ । त्यसक्रममा सवारी साधन, टिभी, कम्प्युटर, माइक्रो ओभन, विभिन्न साइजका हार्डडिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पंखा चोरी भएको सूचनामा उल्लेख छ । सिसीटिभी फुटेजमार्फत चोरी गर्नेलाई पहिचान गर्ने काम भइरहेकाले तत्काल सामान फिर्ता गर्न अख्तियारले आग्रह गरेको छ । अन्यथा अख्तियार कानुनी प्रक्रियामा अगाडि बढ्ने चेतावनी सूचनामा दिइएको छ ।।
संसद सचिवालय
संघीय संसद् सचिवालय यही २४ भदौमा भएको जेन–जी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ । संघीय संसद् सचिवालयले आज सूचना जारी गरी संघीय संसद् सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका सामान अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको उल्लेख गर्दै ती सामान फिर्ता गर्न आग्रह गरेको हो । सचिवालयले मालसामान लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिन आग्रह समेत गरेको छ ।
