मुख्य समाचार

महिलालाई निर्वस्त्र पारेर दौडाइरहेको भिडियो बाहिरिएपछि मणिपुर घटनाको चौतर्फी आलोचना

महिलालाई निर्वस्त्र पारेर दौडाइरहेको भिडियो बाहिरिएपछि मणिपुर घटनाको चौतर्फी आलोचना

भारतको संसद्मा उत्तर–पूर्वी राज्य मणिपुरमा भएको जातीय हिंसाको विषयमा भारतमा चर्को विरोध सुरु भएको छ ।  झन्डै तीन महिनादेखि जातीय हिंसाले ग्रस्त मणिपुरमा पुरुषको भिडले दुईजना आदिवासी महिलालाई निर्वस्त्र पारेर दौडाइरहेको भिडियो बाहिरिएपछि घटनाको चौतर्फी आलोचना भएको छ । प्रहरीले पीडित महिलाहरूमाथि सामूहिक बलात्कार भएको मुद्दा अघि बढाइएको र एक आरोपितलाई पक्राउ गरिएको जनाएको छ । अर्का एक सन्दिग्ध व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ । सांसदहरूले घटनाबारे छलफल गरिनुपर्ने माग गरेपछि बिहीबारको भारतको सघंय संसद्को बर्खे अधिवेशन अवरुद्ध भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाले भारतलाई लज्जित बनाएको भन्दै घटनाका दोषीलाई उम्किन नदिने बताएका छन् । भारतको सर्वोच्च अदालतले पनि महिलामाथि भएको आक्रमणबारे चासो देखाएको छ ।प्रधानन्यायाधीश डीवाई चन्द्रचूडले उक्त भिडिओले आफूलाई विचलित बनाएको भन्दै त्यसबारे यथोचित कदम चाल्न सरकारलाई भनेका छन । सर्वोच्च अदालतले यो घटनालाई आफ्नो जानकारीमा लिँदै पूरा घटनाबारे जुलाई २८ मा सुनुवाइ गर्ने बताएको छ ।यो भिडियो बाहिर आएसँगै भारतमा महिला सुरक्षाको अवस्थामा सरोकारबालाले प्रश्न उठाएका छन । मे चारमा खिचिएको विश्वास गरिएको भिडियोमा महिलामाथि सामूहिक बलात्कार भएको आदिवासी संगठनले आरोप लगाएका छन् । मणिपुर प्रहरीले भने यौन उत्पीडनको उजुरी दर्ता गरिएको र दोषीलाई चाँडै गिरफ्तार गरिने जनाएको छ । केन्द्रीय मन्त्री स्मृति इरानीले घटनालाई अमानवीय भन्दै आफूले मणिपुरका मुख्यमन्त्री बिरेन सिंहसँग कुरा गरेको जनाएकी छन्  कंग्रेस नेता राहुल गान्धीले ट्विट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको मौनता र निष्क्रियताले मणिपुरलाई अराजकतातर्फ धकेलिदिएको आरोप लगाएका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मणिपुरको घटना लज्जास्पद रहेको भन्दै दोषीमाथि कठोर कारबाहीको माग गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत घटनाका दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याइने बताएका छन ।मैतेई समुदायले अनुसूचित जातिमा सूचीकृत गरिनुपर्ने माग अघि सारेपछि मणिपुरमा मे ३ देखि जातीय हिंसा भड्किएको हो । हिंसाका क्रममा १४० भन्दा धेरैले ज्यान गुमाएका छन् भने हजारौं विस्थापित भएका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *