समाज

भारतबाट फर्केपछि मुख्यमन्त्री शाह भन्छन्– प्रधानमन्त्रीको भारत भ्रमण छिट्टै हुन्छ

भारतबाट फर्केपछि मुख्यमन्त्री शाह भन्छन्– प्रधानमन्त्रीको भारत भ्रमण छिट्टै हुन्छ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मित्रराष्ट्र भारतको आफ्नो भ्रमण उपलब्धिपूर्ण भएको बताएका छन् ।

एकसाताको भारत भ्रमण गरेर स्वदेश फर्किएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको विकासका लागि भारतीय पक्ष सकारात्मक भएको आफूले पाएको बताए ।

भारतको उत्तराखण्ड र उत्तरप्रदेशका मुख्यमन्त्रीसँग शिष्टाचार भेटवार्ताका क्रममा आफूहरू बीच प्रदेशको ऊर्जा, सडक पूर्वाधार, कृषि विकास, तथा लगानी सम्मेलनका बारेमा छलफल भएको बताए । 

उनले भने, “सुदूरपश्चिम प्रदेशको सम्भावना र विकासका लागि भारतीय पक्ष सकारात्मक भएको पाएँ ।”  उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेटमा सीमा क्षेत्रमा लागुऔषधलगायतका अपराधिक क्रियाकलाप नियन्त्रण एवं रोकथामबारे कुरा भएको मुख्यमन्त्री शाहले जानकारी दिए । 

“योगी आदित्यनाथ र आफूबीच केवल विकासका मात्र कुरा भए”, उनले भने, “सङ्घीयतालाई बलियो बनाउन र सुदूरपश्चिमको विकास र समृद्धिका बारेमा केन्द्रित रह्यौँ भ्रमणका क्रममा कुनै राजनीति विषयमा कुराकानी भएन ।” 

मुख्यमन्त्री शाहले भ्रमणका क्रममा पलियाकलाँ– गौरीफन्टा सडक र तिकुनिया–खक्रौला सडक स्तरोन्नति तथा दार्चुला, बैतडी र डडेलधुरास्थित महाकाली नदीमा पुल निर्माण, टनकपुर ब्यारेजको आवगामन सहज बनाउन, र सुक्खा बन्दरगाहलगायतका विषयमा आफूले भारतीय समकक्षीसँग कुरा राख्दा उहाँहरू सकारात्मक रहेको आफूले पाएको जानकारी दिए ।

“नेपालबाट भारत जाने र भारतबाट नेपाल भित्रिने नागरिकको कैलाली र गड्डाचौकी भन्सार चेकप्वाइन्टमा अभिलेख राख्ने विषयमा उहाँहरू सहमत हुनुभयो”, उनले भने । एक प्रश्नको जवाफमा मुख्यमन्त्री शाहले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा भएको भेटघाटपछि प्रधानमन्त्री ओलीको भारत भ्रमणछिट्टै हुन लागेको सङ्केत आफूले पाएको बताए । 

यही वैशाख १६ गते भारत भ्रमणमा निस्केको मुख्यमन्त्री शाह नेतृत्वको टोली आज लखनऊबाट स्थलमार्ग हुँदै धनगढी (कैलाली) आइपुगेको हो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *