एजेन्सी । पानी र बिजुलीको लामो समयदेखिको कटौतीविरुद्ध जेनजी युवाहरूको नेतृत्वमा भएको प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिले सरकार विघटन गर्ने घोषणा गरेका छन् । राष्ट्रपति एन्ड्री राजोएलिनाले राष्ट्रका नाममा टेलिभिजनबाट सम्बोधन गर्दै सरकारका सदस्यहरूले जिम्मेवारी पूरा नगरेको स्वीकार गर्दै सरकार विघटनको घोषणा गरेका हुन् । गत बिहीबारदेखि माडागास्करका सहरहरूमा हजारौँ युवा प्रदर्शनकारीहरू नारासहित सडकमा उत्रिएका थिए । त्यस क्रममा कम्तीमा २२ जनाको मृत्यु भएको र १०० जना घाइते भएको जनाइएको छ । यसैबीच, संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले प्रदर्शनलाई दबाउन सुरक्षा बलले ‘अनावश्यक बल’ प्रयोग गरेको भन्दै निन्दा गरेका छन् । यद्यपि, माडागास्करको विदेश मन्त्रालयले मृत्यु र घाइते हुनेको तथ्याङ्क ‘अफवाह वा गलत सूचनामा आधारित’ रहेको भन्दै राष्ट्रसंघको तथ्याङ्क अस्वीकार गरेको छ । आन्दोलनका क्रममा त्यहाँका सुपरमार्केट, इलेक्ट्रोनिक्स पसल तथा बैंकहरूमा लुटपाट भएका छन् । यस्तै केही नेताहरूको घरमा समेत आक्रमण भएको छ । रजोएलिना पहिलो पटक २००९ को ‘कू’ मार्फत सत्तामा आएका थिए ।
