काठमाडौं । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले लगातार दोस्रो खेलमा ह्याट्रिक गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ ।
उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा बुधबार भएको खेलमा नेपालले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी श्रीलङ्कालाई ८–० गोलले हरायो ।समूह ‘एफ’ अन्तर्गत यसअघि आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोलले हराएको थियो । नेपालले फिफा वरीयतामा आफुभन्दा ५९ स्थान तल रहेको श्रीलङ्काविरुद्ध एकपक्षीय प्रदर्शन गरेको थियो ।
बुधबार भएको खेलमा नेपालका लागि साम्बाको ३ गोलसँगै गिता रानाको २ गोल तथा निशा थोकर, रेखा पौडेल र पुजा रानाले १(१ गोल गरे । नेपालले दुवै हाफमा ४(४ गोल गर्यो । लगातार दुई जितपछि नेपाल ६ अंक जोडेर समूह एफको शीर्ष स्थानमा उक्लेको छ ।
समूहको शीर्षमा रहने टिम सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ भने त्यसले अन्य मुख्य प्रतियोगिताहरूका लागि पनि ढोका खुल्ने छ ।