काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले शाङ्घाई सहयोग संगठनको शिखर सम्मेलनलाइ सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा प्र्रधानमन्त्री ओलीले चीन शहर सधैं सुन्दरता, संस्कृति र नवप्रवर्तनले झल्किने शहरका रुपमा ब्याख्या गर्दै नेपालको तर्फबाट यो बैठकको सफलताको शुभकामना व्यक्त गरेका हुन् ।
उनले जलवायु परिवर्तनको असरबाट नेपाल पनि अछुतो नरहेको भन्दै हिमालय मुटुमा रहेकोे नेपाल प्रत्यक्ष प्रभावित रहेको जनाएका छन् । नेपालका हिमालहरू विश्वको जलवायु स्थिर पार्ने केन्द्र रहेको जनाउँदै हिउँको भण्डार घ्टदै जाँदा अरबौँ मानिसको जीवन संकटमा परेको उल्लेख गरेका छन् ।
यसका साथै साइबर आक्रमण, महामारी जस्ता नयाँ खतराहरू सीमित क्षेत्रभित्र नरहने भन्दै प्रधानमन्त्री ओलीले बहुपक्षीय मञ्चहरूले धेरै बाचा गर्ने गरेतापनि उपलब्धि भने न्युन हुने जिकिर गरेका छन् । प्रगतिविनाका वाचाहरूले विश्वास क्षीण पार्ने भन्दै उनले बहुपक्षीयतालाई त्याग्नु समाधान नहुने धारणा व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय व्यवस्थामा चुनौती आएको बताउँदै प्रधानमन्त्री ओलीले विश्वमा शान्ति र न्याय दुलर्भ रहेको जनाएका छन् । सम्बोधनकै क्रममा उनले नेपाल मैत्रीपूर्ण सम्बन्ध, साझेदारी र असल छिमेकी सम्बन्ध बलियो बनाउने पक्षमा रहेको जानकारी समेत दिएका छन् ।