काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. नारायण खड्काले सरकारको नीति तथा कार्यक्रम समग्र रुपमा राम्रो आएको भएपनि मुलुकलाई समृद्धितर्फ अगाडि बढाउने खालको कुनै कार्यक्रम नभएको बताएका छन् ।
आईतवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताउका हुन् । सांसद खड्काले मन्त्रालयगत रुपमा सबै विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको भएपनि विकासको लक्ष्य र उद्देश्य पूरा गर्नेगरी कुनै कार्यक्रम नभएको बताए । उनले आर्थिक रुपमा देखिएका विविध समस्यालाई समाधान गर्नेगरी नीति तथा कार्यक्रम केन्द्रित नभएको पनि बताए ।
सांसद खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध बोल्नेमाथि सरकारले प्रतिवाद गर्नेकुरा नीति तथा कार्यक्रममा समेटिनु सही नभएको भन्दै सडकमा देखिने जनताका असन्तोष र निराशालाई सरकारले लुकाएर नलुक्ने उल्लेख गरे । युवाका असन्तुष्टिलाई बजेटमार्फत सम्बोधन गरेर व्यवस्थालाई बलियो बनाउनुपर्ने खड्काको भनाइ छ ।