समाज

मेची भन्सारद्वारा १० महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन

मेची भन्सारद्वारा १० महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १२ अर्ब ९४ करोड २० लाख ६० हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो । 

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाँईका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्म १४ अर्ब १४ करोड ४२ लाख २० हजार राजस्व सङ्कलनको लक्ष्य रहेको थियो । “गत आर्थिक वर्षमा२०८०/८१ को सोही अवधिमा राजस्व १५ अर्ब आठ करोड ६४ लाख २० हजार राजस्व सङ्कलनको लक्ष्य राखिएकामा ७६ दशमलव ८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो तर यसपटक भने लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हासिल गरेका छौँ”, उनले भने

कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयातबाट ६० दशमलव ५५ प्रतिशत अर्थात् सात अर्ब ८३ करोड ६२ लाख ४३ हजार राजस्व सङ्कलन भएको छ ।

यसैगरी, तरकारीको आयातबाट ५८ करोड ३३ लाख १५ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट ३६ करोड ५३ लाख १५ हजार, खनिज उत्पादनबाट २४ करोड १० लाख ३० हजार, कफीबाट १९ करोड ३६ लाख ९० हजार, दलहनबाट २० करोड २९ लाख ९४ हजार, राजस्व सङ्कलन भएको सूचना अधिकारी हुमागाँईले जानकारी दिए । 

यहाँबाट चालु आर्थिक वर्षको १० महिनामा २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार बराबरको वस्तु निर्यात हुँदा १९ करोड ८९ लाख ६८ हजार राजस्व सङ्कलन भएको छ । सोही अवधिमा ३८ अर्ब ८८ करोड ७८ लाख ११ हजार बराबरको वस्तु आयात गरिँदा १२ अर्ब ७४ करोड ३० लाख ९२ हजार राजस्व सङ्कलन भएको छ । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *