काठमाडौं । सभामुख देवराज घिमिरेले नेता परिवर्तन गर्ने नभइ जनताको सोचमा परिवर्तन हुन जरुरी रहेको बताएका छन् ।
शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यथार्थ के हो भन्ने बारे नेपाली जनताहरुले हेर्ने काम कम भइरहेको बताएका हुन् । सभामुख घिमिरेले कसैले बनाएको एउटा धारणालाई सही र गलत नछुट्याइ अघि बढ्ने परिपाटी विकसित भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।
सभामुख घिमिरेले यथार्थलाई बुझ्ने,बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम हुँदै गएको भन्दै जनताको सोचमा परिवर्तन आउनुपर्ने समय आएको उल्लेख गरे । जनताको सोच व्यवहारमा परिवर्तन हुन नसक्दा र कुुप्रचारले महत्व पाएकोले सही विषय पनि गलत देखिन थालेको घिमिरेले बताए । नेताको परिवर्तन प्रणालीले नै गरिरहेको पनि सभामुख घिमिरेले बताए ।
सभामुख घिमिरेले अहिले राजनीतिमा अस्थिरता रहेको भन्दै देशमा बढिरहेको प्रणाली बिरुद्धको अभियानलाई जनताले निगरानीका साथ हेर्नुपर्ने र सजगताका साथ व्यवहार गर्नुपर्ने आवश्यकता रहेको बताए ।