ललितपुर । सन् १९६४ देखि २०२४ सम्म नेपालको ओलम्पिक सहभागितालाई समेटिएको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक बुधवार एक कार्यक्रमका बीच विमोचन भएको हो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, ओलम्पियन वैकुण्ठ मानन्धर, जितबहादुर केसी, दीपक विष्ट, विष्णुबहादुर सिंह लगायत १५ जनाले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् ।
उक्त पुस्तकमा पारालिम्पिक, समर तथा ग्रीष्मकालीन ओलम्पिक र युथ ओलम्पिकमा नेपाली खेलाडीको सहभागिताबारे उल्लेख छ । खेलाडीहरूको संक्षिप्त जानकारी तथा उपलब्धि उक्त पुस्तकमा समावेश रहेको राष्ट्रिय खेलकूद परिषदका प्रचारप्रसार शाखा प्रमुख खुशराज दाहालले जानकारी दिए ।
पेरिस ओलम्पिकलाई केन्द्र बनाएर उक्त पुस्तक प्रकाशित गरिएको हो । हालसम्म सहभागी खेलाडीको विवरण पुस्तकमा समेटिएको छ ।