काठमाडौं । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोग स्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ ।
आज परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सवारीसाधन हस्तान्तरण गरे । नेपाल—भारत सहयोग कार्यक्रमअन्तर्गत ती सवारीसाधन उपलब्ध गराइएका हुन् ।
सो अवसरमा मन्त्री डा राणाले सगरमाथा संवादका लागि उपलब्ध गराइएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद ज्ञापन गरिन् । राणाले जलवायु परिवर्तन नेपालको मात्र नभई यस क्षेत्रकै साझा चुनौतीका रूपमा रहेकाले यसको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताईन् ।
नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले भारत सरकारले नेपालको आर्थिक, सामाजिकलगायत क्षेत्रमा पुर्याउँदै आएको सहयोगको चर्चा गर्दै सगरमाथा संवादका लागि सवारीसाधन उपलब्ध गराउन पाएकामा खुसी व्यक्त गरे ।