समाज

प्रधानमन्त्री ओलीविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

प्रधानमन्त्री ओलीविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले विश्वासको मत लिनुपर्ने माग सहित सर्वोचमा परेको रिटमा आज सुनुवाइ हुँदैछ ।

अधिवक्ता वीरेन्द्र केसीले बिहीबार दर्ता गराएको रिटको पेशी आजलाई तोकिएको हो । जनता समाजवादी पार्टी (जसपा) नेपालले गत असार ३२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गर्दै समर्थन फिर्ता लिएको थियो । 

सरकारका लागि विश्वासको मत दिएकामध्येको एक पार्टीले समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनुपर्ने र त्यसका लागि सरकारले कुनै प्रक्रिया अघि नबढाएकाले अन्तरिम आदेश जारी हुनुपर्ने माग रिटमा गरिएको छ । 

असार ३२ गते जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेकोले सोही दिनबाट गणना गरी विश्वासको मत लिनुपर्ने जिकिर रिटमा गरिएको छ । समर्थन फिर्ता लिएको एक महिनासम्म सरकारले कुनै प्रक्रिया अघि नबढाएको र यो कार्य संविधानविपरीत भएको दाबी रिटमा गरिएको छ । 

रिटमा प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्रु कार्यालय, सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय र राष्ट्रपति कार्यालय, शितल निवासलाई विपक्षी बनाइएको छ । संविधानमा विश्वास र अविश्वासको मतसम्बन्धी व्यवस्था छ । संविधानमा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । 

पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *