काठमाडौं । आगामी बर्षका लागि ठूलो बजेट ल्याउन खोजिरहेको सरकारलाई ऋणको दायित्वले यो वर्ष २ खर्ब ६६ अर्ब बजेट खर्च गरिसकेको छ ।
यसवर्षका लागि ऋणको साबा व्याज भुक्तानीका लागि ३ खर्ब भन्दा बढि बजेट सरकारले छुट्याएको थियो । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले अबको दुई दिनपछि अर्थात बिहीवार बजेट ल्याउँदैछ ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि बनेको संविधान र त्यहाँ राखिएको व्यवस्था अनुसार सरकारले हरेक वर्षको जेठ १५ मा बजेट ल्याउनुपर्छ ।
सोहीअनुसार निर्धारित दिनमै बजेट ल्याउनका लागि अर्थ मन्त्रालयले घनिभुत रुपमा बजेट निर्माणको कामलाई तिब्र पारेको छ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको दौडधुप बढेको छ, आज मात्रै अर्थमन्त्री पौडेलले राष्ट्रपतिलाई भेटेर बजेटबारे बिफ्रिङ गरेका थिए ।
अर्थ मन्त्रालयले चारैतिरका ढोका थुनेर बजेट लेखनको कामलाई अन्तिम रुप दिइरहेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्ने दिन दुई दिन मात्रै बाँकी रहँदा सरकारले अहिलेकै ठूलो बजेट खर्चै गर्न सकेको छैन ।
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो । तत्कालिन अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटलाई नयाँ सरकार बनेपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कार्यान्वयनको जिम्मेवारी पाएका थिए । सोमवार सम्ममा कुल बजेटमध्ये जम्मा ६६ प्रतिशत बजेट खर्च भएको छ ।
अझै सरकारले चालु आ.व.का लागि ल्याइएको बजेटमध्ये ६ खर्ब ६१ अर्ब बजेट खर्च गर्न बाँकी छ । जहिल्यै ठूलो बजेट ल्याउने तर खर्च गर्न सरकार चुक्ने गरेको छ ।
चालु शिर्षकमा सरकारले अझै ३ खर्ब ३६ अर्ब बजेट खर्च गर्न बाँकी छ । अन्य शिर्षकमा भन्दा विकासतर्फ अति कम बजेट विनियोजन गरेको सरकारले त्यही छ खर्च गर्न सकेको छैन । पुँजीगत शिर्षकमा अझै सरकारले २ खर्ब २३ अर्ब भन्दा बढि रकम खर्च गर्न बाँकी छ ।
आगामी बर्षका लागि ठूलो बजेट ल्याउन खोजिरहेको सरकारलाई ऋणको दायित्वले यो वर्ष २ खर्ब ६६ अर्ब बजेट खर्च गरिसकेको छ । यस वर्षका लागि ऋणको साबा व्याज भुक्तानीका लागि ३ खर्ब भन्दा बढी बजेट सरकारले छुट्याएको थियो ।
यस वर्षका लागि गत जेठ १५ मा बजेट ल्याउनुभएका निःवर्तमान अर्थमन्त्री वर्षमान पुन प्रधानमन्त्रीले नै बजेट कार्यान्वयनमा चासो नदेखाउँदा खर्च हुन नसकेको बताउँछन् ।
उनका अनुसार प्रधानमन्त्रीले नै चालु बजेटको खण्डन गर्दै हिँडेका छन्, चित्त नबुझे मध्यावधी बजेट ल्याउन सकिन्थ्यो । बजेटको आलोचना गर्दै हिँडेका प्रधानमन्त्रीले मैले राम्रो गर्दैछु, अर्थतन्त्र सही दिशामा छ भन्दै हिँडेको पुनले बताए ।
पूर्व अर्थमन्त्री पुनले प्रधानमन्त्री स्वार्थ समूहको इसारामा चलेको समेत आरोप लगाए ।