काठमाडौं । महाधिवेशन स्थलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश लेखिएका चिठी वितरण भइरहेका छन्
भण्डारीले नेकपा एमाले विधान महाधिवेशनका प्रतिनिधिहरूलाई पत्र लेख्दै आफ्नो सदस्यता नवीकरणप्रति उठाइएका प्रश्नप्रति आपत्ति जनाएकी हुन् ।
भण्डारीले २०३७ सालमा प्राप्त गरेको सदस्यता राष्ट्रपति भइसकेर फर्किएपछि पनि पार्टी नेतृत्वको सल्लाह अनुसार नवीकरण भएको स्पष्ट पार्दै अहिले त्यसलाई अस्वीकार गर्ने वा निष्क्रिय बनाउने प्रयास गरिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेकी हुन् ।
उनले पार्टीका केही नेताहरूले सञ्चार माध्यममार्फत आफू नवीकृत सदस्य नभएको भनेर भ्रम फैलाउने प्रवृत्ति अपनाएको आरोप लगाउँदै यसले पार्टीभित्र अन्यौल र बाहिर जनतामा गलत सन्देश दिएको बताएकी छन ।
भण्डारीले आफ्नो पत्रमा आफ्नो सदस्यताको सवाल केवल व्यक्तिगत नभई पार्टीको विधि, मूल्य र लोकतान्त्रिक अभ्याससँग गाँसिएको विषय भएको जनाएकी छन । पूर्वराष्ट्रपतिले पार्टीले विशेष निर्णय गरेर राष्ट्रपतिको उम्मेदवार बनाएको, आफूले सफलतापूर्वक त्यो जिम्मेवारी पूरा गरेर फर्किएको र त्यसपछि पार्टी सदस्यता नवीकरण गरेर सक्रिय हुन खोज्दा रोक्ने प्रयास दुःखद भएको टिप्पणी गरेकी छन् ।
उनले प्रतिनिधिहरूलाई सदस्यता विवाद सच्याएर पार्टीलाई थप एकताबद्ध बनाउन आग्रह गरेकी छन् ।