काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको आजको बैठक अवरुद्ध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने माग गर्दै बिपक्षी दलहरुले संसद अवरुद्ध पारेका हुन् । बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने चेतावनी दिएका थिए । पुनले गृहमन्त्रीले नै सरुवा गरेको कर्मचारी अध्यागमनको कार्यालय प्रमुख भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले मार्ग प्रसस्त गर्नुपर्ने जिकिर गरे ।
त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि गृहमन्त्रीले राजीनामा नदिएसम्म बैठक अघि बढ्न नसक्ने बताए । बिपक्षी दलहरु माओवादी केन्द्र,राष्ट्रिय प्रजातन्त्र पार्टी,रास्वपाका सांसदहरुलाई सभामुख देवराज घिमिरेले पटक पटक बस्न आग्रह गरेपनि उनीहरु उठेर बैठक अवरुद्ध गरेपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
अख्तियारले भिजिट भिसामा सेटिङको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित चार जनालाई नियन्त्रणमा लियो र उनीहरूका डिभाइसहरू अनुसन्धानका लागि पठाएको छ । यसमा गृहमन्त्रीले पनि राजीनामा दिनुपर्ने बिपक्षीहरुको माग छ ।