काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यकर्ताहरूलाई जेनजी आन्दोलनले ल्याएको परिवर्तन स्वीकार्दै पार्टीलाई नयाँ दिशामा अगाडि बढाउन आह्वान गरेका छन् ।
आज बिहान एक सन्देश जारी गर्दै नेता कोइरालाले पार्टीको नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउनुपर्ने बताएका हुन् । कोइरालाले विगतमा पार्टी कहाँ चुक्यो भन्नेबारे समय खर्च नगरी भविष्यमा कसरी अगाडि बढ्ने भन्नेमा ध्यान केन्द्रित गर्न पनि आग्रह गरेका छन् ।
उनले जेनजी आन्दोलनले नयाँ सरकार गठन गर्न बाध्य पारेको र यसलाई सतर्कतापूर्वक हेर्नुपर्ने पनि बताएका छन् । नेता कोइरालाले नयाँ सरकारले आम नागरिकको भरोसा जित्ने विश्वास पनि व्यक्त गरेका छन् । उनले भाद्र २४ गते आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिको लुटपाट, आगजनी र व्यक्तिमाथि भएको पाशविक व्यवहार भने सभ्य समाजमा स्वीकार्य नहुने उल्लेख गरेका छन् ।
नेता कोइरालाले आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीमाथि भएको हातपात र लुटपाटलाई ‘जघन्य अपराध’ भन्दै कडा निन्दा गरेका छन् ।