एजेन्सी । चीनको दक्षिण पश्चिममा आएको बाढीको कारण ८० हजार जनाभन्दा धेरै मानिस विस्थापित भएका छन् ।
दक्षिण पश्चिम गुइझोउ प्रान्तमा ८० हजार ९ सय जनालाई सुरक्षित ठाउँमा सारिएको छ । रोङजियाङ काउन्टीमा एउटा फुटबल मैदान ‘तीन मिटर पानीमुनि डुबेको’ छ । बाढीले छिमेकी गुआङ्सी क्षेत्रमा पनि असर पारेको छ ।
ठूलो वर्षाका कारण मध्य चिनियाँ प्रान्त हुनानमा गतसाता १०औं हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । टाइफुन वुटिपका कारण आएको बाढीपछि केही दिनअघि नै दक्षिणी चीनमा झन्डै ७० हजार मानिस विस्थापित भएका थिए ।
हरितगृह ग्यास उत्सर्जनले बढाएको जलवायु परिवर्तनले यस्ता चरम मौसमी घटनाहरू भइरहेको वैज्ञानिकहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।