काठमाडौ । सप्तकोशी नदीको बाढीले यस वर्ष पहिलोपटक खतराको तह पार गरेको छ । सप्तकोशी नदीमा खतराको तह बेलुकासम्म नै जारी रहने देखिएपछि सप्तकोसी नदीको ५६ मध्ये ५६ ढोका खुला गरिएको छ । कोशी ब्यारेजमा पानीको सतह ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको छ । गत भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो । कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार अहिले कोशी ब्यारेजमा तीन रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । सप्तकोशी नदीका सहायक नदीहरु सुनकोशी, अरुण र तमोरमा पनि खतराको तह कायमै छ । कोशी र सहायक नदीका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनेर मास एसएमएस पठाइएको बाढी पूर्वानुमान शाखाले जनाइएको छ । सुनसरी, मोरङ र झापा भएर बग्ने साना नदीहरु तथा झापाको कन्काई नदीको तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन भनिएको छ । सप्तकोशी नदीको बाढीको सतह खतराको तह आज बेलुकीसम्म नै रहने पूर्वानुमान छ । भोलि बिहानसम्म सतर्कताको तहभन्दा माथि नै रहने छ ।