काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको छ ।
बिहीबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको परिषद् बैठकलै विभिन्न उच्च अदालतमा न्यायाधीश नियुक्ति तथा पदस्थापनका लागि सिफारिश गरेको हो ।
परिषद्का अनुसार सिफारिश भएकामध्ये १६ जना जिल्ला अदालतका न्यायाधीश छन् । पाँचजना न्याय सेवाबाट र ६ जना कानुन व्यवसायीबाट उच्च अदालतको न्यायाधीशमा सिफारिश भएका हुन् ।
जिल्ला न्यायाधीशबाट गोपालराज बास्तोला, गिरीराज गौतम, युवराज गौतम, तेजनारायण पौडेल, प्रकाश ढुंगाना, दीपककुमार खरेल, शिवबहादुर रानाभाट, कमलप्रसाद पोखरेल, दलबहादुर केसी, वासुदेव न्यौपाने, प्रकाशचन्द्र अधिकारी, केशवप्रसाद अधिकारी, रमेशप्रसाद ज्ञवाली, उद्धवप्रसाद भट्टराई, अवनी मैनाली भट्टराईलाई उच्च अदालतको न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको छ ।
न्याय परिषद्का सचिव यमबहादुर बुढामगर उच्च अदालत सुर्खेत, जुम्ला इजलासको न्यायाधीशमा सिफारिश भएका छन् । त्यस्तै, सर्वोच्च अदालतका सह रजिस्ट्रार अच्युत कुइँकेल उच्च अदालत पाटनको न्यायाधीशमा सिफारिश गरिएको छ ।
त्यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव कोमलबहादुर खत्रीको उच्च अदालत सुर्खेतको न्यायाधीशमा सिफारिश भएको छ । उच्च अदालतका लागि ६ जना कानुन व्यवसायीहरूको सिफारिश भएको छ ।
अधिवक्ताहरूबाट न्यायाधीशमा सिफारिश हुनेहरूमा शर्मिला थापा विष्ट, प्रतापसिंह ठकुराठी, बालकृष्ण गैरे, निशा बानियाँ, श्यामकुमार विश्वकर्मा र अरुणकुमार पँजियार रहेका छन् । सिफारिशअनुसार अब प्रधानन्यायाधीशले उनीहरूलाई नियुक्त र पदस्थापन गर्नेछन् ।