काठमाडौं । आसन्न दशैं पर्वलाई लक्षित गरी शनिबार बिहानसम्म मुस्ताङबाट १३ हजार ५७५ वटा भेडा च्याङ्ग्रा निकासी भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङको तथ्यांक अनुसार मुस्ताङसहित कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाका १३ हजारभन्दा बढी भेडा च्याङ्ग्रा मुस्ताङबाट निकासी भएको हो ।
मुस्ताङका कृषकहरुले पालन गरेको ६ हजार ९०० भेडाच्यांग्रा जिल्ला बाहिर निकासी भएको हो । यसैगरी कर्णाली प्रदेशको जुम्लाबाट ७ सय ७५, मगुबाट पाँच सय र डोल्पाबाट पाँच हजार ४०० भेडा च्याङ्ग्रा निकासी भईसकेको कार्यालयले जनाएको छ ।
मुस्ताङबाट अझै थप एक हजारको हाराहारीमा भेडा च्याङ्ग्रा जिल्ला बाहिर निकासी हुने प्रक्षेपण गरिएको छ । गत वर्ष दसैदेखि तिहारसम्ममा एघार हजार ८०० सयभन्दा बढी भेडा च्याङ्ग्रा जिल्ला बाहिर निकासी भएको थियो ।
गतवर्षको तुलनामा यस वर्ष २० प्रतिशत भन्दा बढी भेडा च्याङ्ग्रा मुस्ताङबाट बाहिरिएको कार्यालयले जनाएको छ । यसवर्ष पचास प्रतिशत मुस्ताङबाट र पचास प्रतिशत कर्णाली प्रदेशबाट मुस्ताङको जोमसोमबाट घाँसा हुँदै बाहिरिएको हो ।