काठमाडौं । देशका अधिकांश भूभागमा अहिले वर्षा भइरहेको छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी र लुम्बिनी आसपासका क्षेत्रमा भने तुलनात्मक रूपमा बढी वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारीदेखि धेरै भारी वर्षासमेत मापन भएको मौसमविद् रोजन लामिछानेले बताए।
काठमाडौं लगायतका अधिकांश ठाउँमा दुई दिनदेखि लगातार पानी परिरहेको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली भारत प्रवेश गरेपछि यसको प्रभावले नेपालसम्म पानी पारेको हो।
यो प्रणाली अहिले भारतको छत्तिसगढ आसपास छ। जमिनी सतहमा प्रवेश गरिसकेका कारण आगामी चौबीस घन्टामा यो प्रणाली कमजोर हुँदै जाने महाशाखाले जनाएको छ। तर नेपालको पश्चिमी भूभागमा उक्त प्रणालीको प्रभाव आजदेखि बढ्ने मौसमविद् लामिछानेले बताएका छन्।
अहिले प्रणालीले पारेको असरको प्रभाव देशभरि रहे पनि एक–दुई दिन पश्चिमी भूभागमा वर्षाको गतिविधि अझ बढ्ने देखिएको मौसमविद् लामिछानेले बताए। हिजो र आज तुलनात्मक रूपमा कम पानी परेका यी क्षेत्रमा भोलि बढी वर्षा हुने सम्भावना रहेको लामिछानेले बताए।
‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिजो र आज कम पानी परे पनि आज राति र भोलि तुलनात्मक रूपमा बढी पानी पर्नेछ,’ उनले भने। पश्चिममा वर्षा बढ्ने देखिए पनि पूर्वी भूभागतिर भने भोलिदेखि वर्षाको गतिविधि घट्दै जाने मौसमविद् लामिछानेले बताए।
कोशी, मधेस र बागमती प्रदेशका क्षेत्रमा आजको तुलनामा भोलि र पर्सी पानी पर्ने क्रम कम हुँदै जानेछ। ‘भोलि पूर्वी क्षेत्रमा कम पानी पर्ने, पश्चिमी भूभागमा पानी पर्ने सम्भावना आज रातिदेखि बढ्दै जाने देखिन्छ,’ उनले भने।
११ गतेदेखि पूर्वी क्षेत्रमा मौसममा सुधार आउने सम्भावना रहेको छ। कतिपय ठाउँमा वर्षा भए पनि अहिलेको जस्तो लगातारको झरीको अवस्था नरहने लामिछानेले बताए। पश्चिमी क्षेत्रमा भने न्यूनचापीय प्रणालीको असरको प्रभाव केही समय कायम रहनेछ।
विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा १२ गतेसम्म वर्षाको प्रभाव देखिन सक्ने मौसमविद् लामिछानेको भनाइ छ। सो प्रदेशको केही क्षेत्रमा पर्सी बिहानसम्म पनि पानी पर्न सक्ने उनले बताए।
त्यसपछि भने देशभर मौसम क्रमशः सुधार हुँदै जानेछ। ‘१३ गतेदेखि देशैभरि मौसम क्रमिक रूपमा सुधार आउने देखिन्छ। कतै(कतै पानी परे पनि त्यस्तो सबैतिर नपर्न सक्ने सम्भावना धेरै छ,’ लामिछानेले भने। लगातारको वर्षाका कारण किसानलाई भने धान काट्न केही दिन पर्खन मौसमविद् लामिछानेले सुझाव दिएका छन्।