काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन्द्र साहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट जलवायु परिवर्तन र त्यसबाट नेपालले भोगिरहेको संकटबारे विश्वको ध्यानाकर्षण गराएको बताएकी छन्।
प्रधानमन्त्री साहले महासभालाई सम्बोधन गर्दै दिएका अभिव्यक्तिले के अर्थ राख्छन् भन्ने व्याख्या गर्दै सामाजिक सञ्जाल फेसबुकमा धारणा राखेकी धितालले यस्ता बहस आउँदा दिनमा अझ गर्नुपर्ने पनि बताइन्।
‘जलवायु परिवर्तनले सीमा चिन्ने र हिमनदी तथा बाढीले पासपोर्टमा छाप लगाएर यात्रा नगर्ने’ भन्दै प्रधानमन्त्री साहले दिएको अभिव्यक्तिले नेपालको संकटको गम्भीरता कति छ भनेर देखाउन खोजेको उल्लेख गरेकी छन्। प्रधानमन्त्री बालेन साहले भोटेकोशी–त्रिशूलीको विपत्ति केवल स्थानीय त्रासदी मात्रै नभएको बताएका थिए।
‘हामीले साँच्चै संकटले सचेत गराएको सुनेका छौँरु’ भन्दै प्रधानमन्त्री साहले विश्वलाई सतर्क गराउने प्रयास गरेको धितालको भनाइ छ। उनले प्रधानमन्त्रीको सम्बोधनमा जलवायु परिवर्तन र युद्धका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको असमान असरलाई समेत महासभामा उठाइएको बताएकी छन्।
‘प्रधानमन्त्रीले ुअन्तरमहादेशीय क्षेप्यास्त्रहरू भने समयमा आइपुग्छन्। राइफल र गोलाबारुद सीमा पार गर्छन्, हरेक अवरोध पार गर्छन् र हरेक समयसीमा पूरा गर्छन्। तर नेपालका किसानले आवश्यक परेको समयमा बजार मूल्यमा मल वा इन्धन किन्न सक्दैनन्। हामीले युद्धका लागि त्रुटिरहित रसद प्रणाली र खाद्यान्नका लागि भताभुङ्ग रसद प्रणाली भएको संसार बनाएका छौँ। र यो नेपालको मात्र दुर्भाग्य होइन। हामीले नतताएको जलवायुको मार खेपिरहेका छौँ, र हामीले सुरु नगरेको युद्धको मार पनि फेरि हामीले नै खेपिरहेका छौँ,ु भन्दै हामीले भोग्नुपरेको असन्तुलित मारमाथि प्रकाश पार्नुभएको छ,’ उनले फेसबुकमा भनेकी छन्।
नेपालले नतताएको जलवायु परिवर्तनको मार र आफूले सुरु नगरेको युद्धको असरसमेत भोग्नुपरेको भनेर प्रधानमन्त्रीले ‘असन्तुलित मार’को राम्रो चित्रण गरेको भन्दै प्रशंसा गरेकी छन्।विश्वमञ्चमा नेपालको आवाज पुर्याउने पहिलो चरणको काम सफल भएको बताउँदै धितालले अब त्यसलाई परिणाममुखी बनाउन निरन्तर बैठक, छलफल र समन्वय आवश्यक रहेको उल्लेख गरेकी छन्।
‘यो चरण यस यात्राको श्रीगणेश हो, इतिश्री होइन,’ उनले भनेकी छन्, ‘हामीले आँटेको कदमलाई गन्तव्यसम्म पुर्याउन थप अनवरत बैठक, छलफल र समन्वयको आवश्यकता छ। यो आवाजलाई बिसाउन नदिने हठको आवश्यकता छ।’
धितालले नेपालको मुद्दालाई विश्वमञ्चसम्म पुर्याउन नेतृत्व गरेको भन्दै प्रधानमन्त्री साह, परराष्ट्रमन्त्री तथा नेपाली प्रतिनिधिमण्डलप्रति आभारसमेत व्यक्त गरेकी छन्।