काठमाडौं । नेपालमा विश्व खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।
सोमवार काठमाडौंमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । हरेक वर्ष ७ जुनमा विश्व खाद्य स्वच्छता दिवस मनाउने गरिन्छ । यस वर्ष पनि विगत झैँ ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ भन्ने नारासहित दिवस मनाइँदैछ ।
विभागले १८ गते शुरु भएको कार्यक्रम आगामी २४ गतेसम्म मनाउने भएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को तथ्याङ्कअनुसार विश्वमा हरेक वर्ष अस्वस्थकर एवं दुषित खाद्य पदार्थबाट २ लाख ३० हजार मानिसको मृत्यु हुने गरेको बताए ।
डब्ल्युएचओकाअनुसार अस्वस्थकर एवं दुषित खाद्य पदार्थबाट झाडा पखालादेखि क्यान्सरसम्म २ सय भन्दा बढी रोग लाग्ने, प्रत्येक दश जनामध्ये एक जना मानिस विषाक्त खाद्य पदार्थको उपभोगका कारण विरामी हुने,४ लाख २० हजार मानिस खाद्य जनित रोगबाट मृत्यु हुने तथा झाडापखालाबाट करिव ५५ करोड बिरामी हुने गर्दछन् । विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसन्धान अनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपंक्षीजन्य खाद्य पदार्थमा एण्टिबायोटिक अवशेष, खाद्यान्नमा ढुसीजन्य विषको समस्या रहेको आंैल्याएको छ ।
विश्व खाद्य स्वच्छता दिवसको अवसरमा विभागले नारा र सन्देश सहितको व्यानर राख्ने एवं विभागको वेभसाइटमा अपलोड गर्ने, विभिन्न अतिरिक्त क्रियाकलाप (मैत्रीपूर्ण क्रिकेट, व्याटमिन्टन तथा टेबुलटेनिस प्रतियोगिता) को आयोजना गर्ने, विभाग परिसर सरसफाई गर्ने, खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कृषि सूचना तथा प्रशिक्षण केन्द्र र काठमाडौं महानगरपालिकाको कार्यालयको समन्वयमा खाद्य स्वच्छता संवाद कार्यक्रम, राष्ट्रिय टेलिभिजन कार्यक्रममा खाद्य स्वच्छता सम्बन्धी संवाद कार्यक्रम, एफ एम÷टिभी लगायत सञ्चार माध्यममा सूचना सन्देश प्रसारण, विशिष्ट व्यक्ति मार्फत सचेतनामूलक सार्वजनिक सन्देश, पोष्टर पम्प्लेट लगायतका सामग्रीको निर्माण तथा प्रशारण गर्ने कार्यक्रम तय गरेको छ ।