समाज

वर्षा नहुँदा तराईमा हालसम्म ५१ प्रतिशत मात्र रोपाइँ

वर्षा नहुँदा तराईमा हालसम्म ५१ प्रतिशत मात्र रोपाइँ

काठमाडौं । समयमा वर्षा नभएकाले अन्नको भण्डार तराईमा हालसम्म करिब ५१ प्रतिशत मात्र रोपाइँ भएको छ । 

मधेस प्रदेशमा सिँचाइको व्यवस्था नभएको र आकाशे पानीको भर पर्नुपर्ने बाध्यताका कारण किसानले धान रोप्न नपाएका हुन् । मधेस प्रदेशका सर्लाही, महोत्तरी, सिरहा, धनुषा, सप्तरी जिल्लामा रोपाइँमा समस्या देखिएको कृषि विभागले जनाएको छ । 

मधेसको धान रोपाइँ हुने तीन लाख ७२ हजार हेक्टरमा अहिलेसम्म एक लाख ९२ हजार हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको हो । कृषि विभागका अनुसार सर्लाहीमा ५६ प्रतिशत, महोत्तरीमा ३५, सिरहामा ३८, धनुषामा ३५, सप्तरीमा ३७ प्रतिशत मात्र रोपाइँ भएको छ । 

मुख्य धान उत्पादन हुने जिल्लामा रोपाइँ नहुँदा किसान चिन्तित छन् । मधेसकै बारा र पर्सामा भने सन्तोषजनक रहेको छ । बारामा ८० प्रतिशत र पर्सामा ८१ प्रतिशत रोपाइँ भएको छ । वर्षा नहुँदा, भएका नहर पनि राम्रो मर्मत–सम्भार नहुँदा, बोरिङ, डिप ट्युबवेल पनि राम्रोसँग सञ्चालन नहुँदा धान रोप्न नसकिएको हो । 

मधेसमा आर्थिक वर्ष २०८१÷८२ मा करिब १५ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष अहिलेसम्म आधा मात्र रोपाइँ भएको छ । रोपेको खेत पनि धाँजा फाटेकाले उत्पादनमा धेरै गिरावट आउने निश्चित छ । 

रोपाइँ नभएर खेत बाँझै रहँदा मधेसमा खाद्य संकटको जोखिम निम्तिन सक्ने विज्ञहरूले बताएका छन ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *