समाज

सुर्खेतमा व्यावसायिक लिची खेती आकर्षण

सुर्खेतमा व्यावसायिक लिची खेती आकर्षण

वीरेन्द्रनगर। भेरीगङ्गा नगरपालिका रामघाट सुर्खेतका किसान पछिल्लो समय व्यावसायिक लिची उत्पादनतर्फ आकर्षित भएका छन् । परम्परागत रूपमा मकै खेती गर्दै आएका यहाँका किसान अब मकैका बारीमा लिचीर आँपका बोट लगाउन थालेका छन् । 

यस क्षेत्रमा लिची र आँपलाई प्रमुख नगदे फलफूलका रूपमा लिइन्छ । पछिल्लो केही वर्षयता कृषकले मकै खेतीको तुलनामा फलफूल खेती बढी लाभदायक देखेपछि बारीका डिल, छेउछाउ तथा घर आँगनमै लिचीर आँपका बिरुवा रोप्न थालेका छन् ।

गाउँभर अहिले लिची टिप्न किसानलाई भ्याइ–नभ्याई छ । किसानहरू हरेक दिन भर्‍याङ ठड्याएर लिचीका दान टिप्ने चटारो देखिनछन् । रामघाट–११ की रूपा धौलाकोटीले लिचीउत्पादनबाट वार्षिक रूपमा लाखौँको आम्दानी गर्दै आइरहेको बताइन्। ४६ वर्षीय धौलाकोटीले करिब चार बिघामा ३० वटा लिचीका बोट र १५० वटा आँपका बोट रोपेकी छिन् । २५ वर्षअघि रोपेका लिचीर आँप उनको आम्दानीको स्रोत हुन्  ।

उनका अनुसार बोटमै प्रतिकिलो एक सयदेखि एक सय ५० सम्ममा लिची बिक्री हुने गरेको छ । ग्राहक स्वयं किसानको घरमै आइपुग्ने भएकाले बजार खोज्न जानु नपर्ने उनी बताउँछिन् । रुपा जस्तै रामघाट–११ का किसान टेकबहादुर धमला अचेल लिचीटिप्नमा व्यस्त छन्। पाँच रोपनी जमिनमा लिचीखेती गर्दै आएका धमलाले यस वर्ष पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएको बताए । 

धमलाका अनुसार लिचीखेतीले राम्रो आम्दानी दिने देखिएको छ । रामघाटमा सबै जसो घरघरमा दुई चार वटा लिच्चीका बोटहरू देख्न सकिन्छ । कतिपय किसानले भने लिचीलाई व्यावसायिक रूपमा विस्तार गर्न थालेका छन् । उनका  अनुसार सरकारले मल, प्राविधिक सहयोग र बजार सुनिश्चितता गरिदिए लिचीखेतीमा किसान आकर्षित भएका हुन् । 

हाल रामघाटका किसानहरू आफ्नै क्षेत्रका बजार, वीरेन्द्रनगर, नेपालगञ्ज र दाङमा लिचीबिक्री गर्दै आइरहेका छन् । भेरीगङ्गा नगरपालिका कृषि विकास शाखाका प्रमुख सुरज विसीका अनुसार रामघाटको वडा नम्बर ११ र १३ लिचीर आँप उत्पादनका मुख्य केन्द्र हुन् । उनले भने, “रामघाटको वडा नम्बर १२, ७ र ८ मा लिचीउत्पादनका लागि वातावरणीय अवस्था उपयुक्त छ । यहाँको हावापानी र जमिनको बनावट फलफूल खेतीका लागि अनुकूल छ ।’’ 

रामघाट क्षेत्रमा हाल फलफूलका विभिन्न जात व्यावसायिक रूपमा लगाइएका छन् । आँप २९.९ हेक्टर, सुन्तला ३.१ हेक्टर, केरा १६ हेक्टर, कागती ७.८ हेक्टर र लिची१३.५ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । रामघाट क्षेत्रको झण्डै ८० प्रतिशत भूभाग वडा नम्बर ११ र १३ ले ओगटेको छ । 

कृषि विकास शाखाका प्रमुख बिसीका अनुसार भेरीगङ्गा नगरपालिकाले किसानहरूलाई फलफूल खेतीतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *