काठमाडौ । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेकी छिन । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनाम बिच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताएका छन । त्यसका लागि द्विपक्षीय सहकार्यलाई तीव्रता दिन नेपाल सरकार इच्छुक रहेको समेत पौडेलले बताएका छन । विशेषतः बौद्ध धर्म हाम्रा दुवै देशका जनताबीचको गहिरो सम्बन्धका लागि सेतुको रूपमा रहेको बताउँदै लुम्बिनीलाई धेरै भियतनामीले आफ्नो जीवनमा एकपल्ट अवश्य दर्शन गर्नुपर्ने पवित्र स्थलका रूपमा हेर्नु खुशीको विषय भएको पनि उनले बताए । भियतनामका उपराष्ट्रपति सुआनल दुई देश बीच वृहत सम्बन्धको फ्रेम वर्क बनाउन जरुरी भएको उल्लेख गरेकी छिन । संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा दुवै देश बिच सहकार्य गर्न आवश्यक रहेको उनको भनाइ छ । अन्तर्राष्टिय क्षेत्रमा नेपालले शान्ति कायम गर्न देखाएको अग्रसरता र जलवायु परिवर्तनको असरका सम्बन्धमा गरेको प्रतिबद्धताबाट आफू प्रभावित भएको समेत उपराष्ट्रपति सुआनले उल्लेख गरेकी छिन ।।
