अन्तर्राष्ट्रिय

उत्पादन र बजारीकरणमा जोडिँदै सहकारी

उत्पादन र बजारीकरणमा जोडिँदै सहकारी

बागलुङको बागलुङ दुग्ध उत्पादक सहकारी संघले किसानबाट दूध संकलन गरी विभिन्न परिकार बनाएर बिक्री गर्ने गरेको छ। संघका अध्यक्ष दीपक गौतमले छुर्पी बनाएर काठमाडौं हुँदै अमेरिकासम्म निर्यात गर्ने गरिएको बताए। दूधबाट छुर्पीसँगै पनिर, घिउ र लस्सी उत्पादन हुन्छ। 

संघमा १४ वटा दुग्ध सहकारी आबद्ध भएका छन्। करिब १५ सय किसानबाट दूध संकलन गरी दूध, दही, छुर्पी, पनिरलगायत बिक्री गर्ने गरेको उनले बताए। ४० लाख टन छुर्पी उत्पादन गर्ने क्षमता संघसँग छ। २० लाख टन छुर्पी निर्यात भइरहेको छ। प्रतिकेजीको १२ सय रुपैयाँमा छुर्पी बिक्री हुन्छ। छुर्पी बिक्रीमा कुनै समस्या नभएको संघले जनाएको छ। दूध बेच्दा प्रत्यक्ष फाइदा पुग्ने भए पनि पहिचानका लागि छुर्पी बनाएर बिक्री गर्ने गरेको अध्यक्ष गौतम बताउँछन्। 

दूधमा भ्याट तिर्नु नपरे पनि दूधबाट उत्पादित वस्तुमा भ्याट तिर्नु पर्दा लागत बढेको संघको गुनासो छ। 

संघले आर्थिक वर्ष २०७८÷०७९ मा २ अर्ब ९१ करोड रुपैयाँको छुर्पी निर्यात गरेको थियो। संघले जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ। बागलुङमा दैनिक ६ हजार ५ सय लिटर दूध खपत हुन्छ। संघले जग्गा लिएर व्यवसाय विस्तार गर्ने योजना अघि सारेको छ। संघमा १५ जना कर्मचारीले रोजगारी पाएका छन्। संस्थाले दैनिक तीन हजार लिटर दूध संकलन गर्छ। लिटरमा २२ प्रतिशत मुनाफा राखी बिक्री गर्ने गरेको संघले जनाएको छ। 

संघले बागलुङ पशु स्रोत विकास फार्म सञ्चालन गरेको छ। उक्त फार्ममा ५ सय वटा गाई छन्। ५ सय रोपनी जग्गामा फार्म सञ्चालन भइरहेको छ। उक्त फार्ममा ७९ जनाको ३ करोड ६० लाख रुपैयाँ लगानी भएको छ। एउटा गाईले दैनिक ८ देखि १५ लिटरसम्म दूध दिन्छ। दूधको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ छ। सहकारीले कृषकलाई (५.७) फ्याटको दूधको मूल्य ९५ रुपैयाँ दिन्छ।  संघले सहकारीलाई प्रतिलिटर ९६ रुपैयाँ दिने गरेको छ। वार्षिक ६ करोडको कारोबार हुन्छ। गौतमका अनुसार फार्मबाट ७ लाख रुपैयाँमात्र आम्दानी हुने गरेको छ।

बागलुङ संघका सञ्चालक तथा बागलुङ पशुस्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारीका उपाध्यक्ष बालानान्द कँडेलले केन्द्रले दूध उत्पादन, पशु नश्ल सुधार, गोबरमल उत्पादन, पशु उत्पादन गर्ने गरेको बताए। 

उनका अनुसार केन्द्रमा ३५ वटा दुहुना गाई, १० वटा कोरली गाई, २१ वटा बाच्छाबाच्छी र दुई वटा बहर छन्। गाई तथा बाच्छाबाच्छी व्यवस्थापनमा कुनै समस्या नरहेको उनको भनाइ छ। राज्यले बिमा, औषधि, तालिम, अनुदान तथा बजार व्यवस्थापन गरे पशुपालनमा आकर्षण बढ्ने संघको अपेक्षा छ। 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *