एजेन्सी । उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको निधन भएको छ।
उनको ८९ वर्षको उमेरमा निधन भएको हो । उरुग्वेका राष्ट्रपति यामान्दु ओर्सीले मुजिकाको निधन भएको सामाजिक सञ्जाल मार्फत पुष्टि गरेका छन् । मुजिका अन्ननलीको क्यान्सरबाट पीडित थिए ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार २०१० देखि २०१५ सम्म उरुग्वेमा शासन गरेका उनी सामान्य जीवनशैलीका कारण विश्वको ‘गरीब राष्ट्रपति’ भनेर चिनिन्थ्ये।
आफ्नो कार्यकालमा मुजिकाले तीस लाखभन्दा बढी जनसंख्या भएको सानो दक्षिण अमेरिकी मुलुक उरुग्वेमा कुनै भ्रष्टाचार स्क्यान्डलमा नमुछिकन आर्थिक वृद्धिलाई नेतृत्व गरेका थिए । वैदेशिक लगानीमा वृद्धि गराउँदै र गरिबी न्यूनीकरण गर्न सफल भएका थिए ।
सन् २००९ मा राष्ट्रपति उम्मेदवार भएका उनले ५० प्रतिशत भन्दा बढी मतसहित सफलता पाएका थिए । सन् २०१० देखि २०१५ को बीचमा उनले गरेका धेरै निर्णय अहिले पनि चर्चामा छन् । गाँजा खेतीलाई मान्यता दिएका उनले गर्भपतन र समलैंगिक विवाहलाई पनि वैधानिकता दिएका थिए ।