काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।
बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको हो । साउन २ गते बस्ने पोलिटब्युरो र ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारी र एजेन्डा तय गर्न सचिवालय बैठक बोलाइएको हो ।
एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसेको छ । महाधिवेशनमा राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन् ।
जसअन्तर्गत राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष के.पी. शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने तयारी छ ।