काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरु प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले बाध्यता संविधान र ऐन कानुनका कारण आइपरेको प्रष्टिकरण दिएका हुन् । नेकपा एमालेसँग दुई बुँदे सहमति गर्दै अवरोध खुलाउन राजी भएपछि पार्टीभित्रैबाट आलोचना भएपछि अध्यक्ष दाहालले बजेट माथिको छलफलका लागि संसदको अवरोध हटाउनुपरेको बताएका छन् ।
अध्यक्ष दाहालले संसद अवरोध खुलाउन गरेको दुई बुँदे सहमतिलाई माओवादी जिम्मेवार ढंगले प्रस्तुत भएको भनेर व्याख्या गरे ।
बजेट पास गर्नुपर्ने, संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारी वोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसदको अवरोध खुलाउन तयार भएको दाहालले बताए ।