काठमाडौं । एएफसी महिला २० वर्षमुनिको एसियन कपमा नेपाल र उत्तर कोरियाबीचको खेल आज हुँदैछ ।
भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज उत्तर कोरियासँग खेल्ने भएको हो । खेल दिउँसो पौने २ बजे शुरु हुनेछ ।
शीर्ष स्थानको उत्तर कोरियाले दुई खेलबाट ६ अंक पुर्याएको छ । नेपालको दुई खेलमा चार अंक छ । नेपालले उत्तर कोरियालाई हराउनै पर्ने दबाव छ । यो खेलले समूह ‘ए’ बाट एसियन कप खेल्ने टोलीको टुंगो लाग्नेछ ।
शुक्रबार भएको समूह ‘ए’ को दोस्रो खेलमा नेपालले साउदी अरबलाई एक गोलले हराउँदा उत्तर कोरियाले भुटानलाई १–० गोलले हराएको थियो । उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १–० ले पराजित गरेको थियो । तर, नेपालले भुटानसँग एकरएक गोलको बराबरी खेलेको थियो ।
अब एसियन कपमा छनोट हुन उत्तर कोरियालाई पराजित गर्नै पर्नेछ । ३२ देशको सहभागिता रहेको छनोटमा आठ समूह छन् ।
हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आउँदो वर्ष थाइल्याण्डमा हुने २० वर्षमुनिको एसिया कपमा स्थान बनाउनेछन् ।