काठमाडौं । ग्यास सिलिन्डर चुहावट भएर आगलागी हुँदा झापाको सुरुङ्गामा ८१ वर्षीया वृद्धा घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कनकाई नगरपालिका– ३ सुरुङ्गास्थित ध्रुव श्रेष्ठको घरमा आज आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ८१ वर्षीया बाटुलीमाया दाहाल घाइते भएकी हुन् ।
दाहालले खाना पकाउने क्रममा ग्यास चुहावट हुँदा आगलागी भएको थियो । उनको शरीरको विभिन्न अङ्ग जलेको प्रहरीले जनाएको छ ।
आगलागीका कारण कोठाभित्र रहेका अन्नपात र लत्ताकपडा सहित अन्य सरसामान जलेर पूर्णरुपमा नष्ट भएको छ ।