मुख्य समाचार

युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने, ५० दिनभित्र युद्ध अन्त्य गर्न पुटिनलाई दिए ट्रम्पले समय

युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने, ५० दिनभित्र युद्ध अन्त्य गर्न पुटिनलाई दिए ट्रम्पले समय

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँगको युद्ध अन्त्यको लागि ५० दिने समयसीमा दिएका छन् । 

युक्रेनलाई हवाइ सुरक्षा प्रणाली सहितका उच्चस्तरका हतियार पठाउने निर्णय गर्दै उनले रुसलाई युद्ध अन्त्यका लागि दबाब दिएका हुन् । नेटोका महासचिव मार्क रुटेसँगको बैठकपछि ट्रम्पले युक्रेनले जे चाहान्छ त्यसको सुनिश्चित गर्ने बताएका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पले युद्ध नरोकिए रूससँग व्यापार गर्ने देशहरूलाई अमेरिकामा सामान बेच्दा सय प्रतिशत कर लाग्ने चेतावनी समेत दिएका छन् । ट्रम्पले अर्बौं डलर मूल्यका अत्याधुनिक हतियारहरू युक्रेनलाई सहयोग गर्न तत्काल युद्धक्षेत्रमा वितरण गरिने बताए । 

महासचिव रुटेले पनि युक्रेनलाई ठूलो परिमाणमा हतियार नेटोमार्फत पठाउने सहमति जुटेको पुष्टि गरेका हुन् । रुसबाट भइरहेको हवाई आक्रमणको सामना गर्न युरोपियन देशहरूले पनि युक्रेनलाई उनीहरूको प्याट्रियट मिसाइल हवाई रक्षा प्रणालीहरूे पठाउने बताइएको छ । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुटेसँगको भेटपछि ट्रम्पसँग कुराकानी गरेको बताएका छन् । उनले युक्रेनलाई समर्थन गर्ने र रुसले गरेको हत्याहरू रोक्न तथा दीर्घकालीन र न्यायपूर्ण शान्ति स्थापना गर्न सँगै काम गर्न इच्छुक भएको भन्दै अमेरिकी राष्ट्रपति प्रति आभार प्रकट गरेका छन् । 

युद्धविरामका लागि निरन्तर पहल गरिरहँदा पनि युक्रेनमा रुसले आक्रमण नरोकेपछि अमेरिकी राष्ट्रपति ट्रम्प रुसी राष्ट्रपति पुटिनसँग असन्तुष्ट देखिएका छन । पछिल्लो सहमतिप्रति रुसको प्रतिक्रिया औपचारिक रूपमा आइसकेको छैन । 

विश्लेषकहरुले भने ट्रम्पको घोषणालाई धम्कीको संज्ञा दिएको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *