मुख्य समाचार

आज २१२ औँ भानु जयन्ती : विविध कार्यक्रम गरेर मनाइँदै

आज २१२ औँ भानु जयन्ती : विविध कार्यक्रम गरेर मनाइँदै

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक मनाइँदै छ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको नेपाली भाषामा पहिलोपटक रामायण अनुवाद गरेर आम नेपालीलाई धर्म, संस्कृति र साहित्यमा पहुँच दिलाएका भानुभक्तको योगदान स्मरण गर्दै विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाउन लागिएको हो । 

विसं १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीको प्रेरणाले रामायण नेपालीमा अनुवाद गर्न उत्प्रेरित गरेको इतिहास प्रसिद्ध छ। उनका ‘रामायण’ बाहेक ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ जस्ता काव्यकृतिहरू नेपाली साहित्यका धरोहर मानिन्छन्।

नेपालसँगै भारतको दार्जिलिङ, सिक्किम, भुटान, म्यानमारलगायत नेपाली भाषी समुदाय रहेका देश तथा स्थानहरूमा पनि भानु जयन्ती उत्साहका साथ मनाइने गरिएको छ । 

पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँको चुँदी रम्घामा  आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन सम्पूर्ण नेपाली भाषा, साहित्य र संस्कृतिप्रेमीहरूद्वारा विविध कार्यक्रमहरू आयोजना गरी भानु जयन्ती मनाउने गरिन्छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *