समाज

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा संघीय संसद्का महासचिव संवैधानिक परिषद् काम कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ । यो विधेयक यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएका थिए ।

संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर सभामुख देवराज घिमिरेले विधेयक प्रमाणीकरणका लागि असार ३१ गते राष्ट्रपति पौडेल समक्ष पठाइएको थियो ।

राष्ट्रपति पौडेलले ८ दिन राखेर विधेयकमार्फत गरिएको संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले पुनर्विचारका लागि भन्दै प्रतिनिधिसभामै फिर्ता गरेका थिए ।

राष्ट्रपति पौडेलले फिर्ता पठाएको विधेयक प्रतिनिधिसभामा पेस गरी निर्णय गरेर राष्ट्रियसभामा पठाउने, राष्ट्रियसभाले निर्णय गरेर फेरि प्रतिनिधिसभामा पठाएपछि सभामुख घिमिरेले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने व्यवस्था कानुनमा छ ।

यस्तै आज युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास पहिलो संशोधन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *