काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिनसम्म नै मनसुन सक्रिय रहने जनाएको छ ।
शुक्रबारदेखि नै देशका विभिन्न ठाउँमा पानी पर्नेक्रम बढेकोमा शनिबार र आइतबार धेरै ठाउँमा वर्षा भएको छ । लगातार जसो पानी परेका क्षेत्रमा बाढी, पहिरो र डुवानको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आज भक्तपुरको हनुमन्ते खोला, डोल्पाको ठूली भेरी नदी तथा रुकुमपश्चिमको ठूलो भेरी, म्याग्दीको म्याग्दी खोला, जाजरकोटको नलगाढ, सोलुखुम्बुको सोलु खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । यी नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र तथा होचा भागमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
त्यस्तै, झापासहित उदयपुरको गाइघाट, मुरखुचीबजार, चुरेमाई वर्षामापन केन्द्रहरुलगायत सिराहको लहान, सिराहा हाईड्रो वर्षामापन केन्द्रहरु र आसपासका क्षेत्रमा ठूलो वर्षा मापन भएको छ । आज कोशी र मधेश प्रदेशका केही ठाउँमा सामान्य वर्षा भइरहेको छ ।
बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा पनि हल्का वर्षा भएको छ । अबका तीन दिनसम्म नै मनसुन सक्रिय रहने मौसमविद्ले जनाएका छन् । आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकाले सर्वसाधारण तथा सबै सरोकार भएका निकायमा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले सार्वजनिक अनुरोध समेत गरेको छ ।
मधेश प्रदेशमा साधारणतया बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ ।