समाज

आज साउन १५ : खिर खाने दिन

आज साउन १५ : खिर खाने दिन

काठमाडौं । आज साउन १५ मुलुकभर खिर खाएर मनाइँदै छ । 

परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । 

दूधमा मर–मसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । चामल, दूध, नरिबल, छोकडा लगायत सामाग्री र चिनी हालेर खिर बनाउने प्रचलन रहेको छ । दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । 

आयुर्वेद चिकित्सकका अनुसार वर्षातको समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतो जस्ता रोगले आक्रमण गर्ने हुनाले खिरले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने प्रचलन रहेको बताइन्छ । 

नेपाली समाजमा असार १५ गते दही, च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *