समाज

बागमतीका मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्तावमा आज छिनोफानो हुने

बागमतीका मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्तावमा आज छिनोफानो हुने

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दैछ । बैठकमा संसदीय दलका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ ।

अविश्वासको प्रस्तावमाथि सोमबार छलफल भए पनि कुनै टुङ्गोमा नपुगेपछि आज छिनोफानो गर्ने निष्कर्षमा नेताहरू पुगेका हो ।

सोमबार भएको संसदीय दलको छलफलले संसदीय दलको विवाद सहमतिमा नै टुङ्ग्याउने गरी लामालाई राजीनामा गराउन प्रयास भएको थियो। राजीनामा नदिए मतविभाजन गर्नेगरी सोमबारको छलफल आज १० बजे बस्ने गरी स्थगित भएको थियो ।

लामालाई दलको नेताबाट हटाउन गत शुक्रबार २१ जना प्रदेश सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । बागमती प्रदेशमा कांग्रेसका ३७ जना सांसद छन् । दलको नेता परिवर्तन गर्नका लागि १९ मत आवश्यक पर्दछ ।

दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री लामाले विधान अनुसार बहुमत सदस्यको समर्थन रहेको सिद्ध गर्नुपर्नेछ ।

कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँको अगुवाइमा लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *